Spread the love

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच आईतबार बहुप्रतीक्षित फाइनल प्रतिस्पर्धा हुँदैछ । दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् । समूह चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका दुवै टोलीमध्ये गुजरात र बेंगलुरु पहिलो क्वालिफायर्समा आमनेसामने भएका थिए । उक्त खेलमा बेंगलुरुले एकपक्षीय जित निकालेको थियो । तर उपाधि भिडन्तमा परिस्थिति फरक रहने अपेक्षा गरिएको छ । गुजरातको घरेलु मैदानमा हुने फाइनल खेलमा दुवै टोलीमाथि जितको दबाब रहनेछ ।

यसपटकको उपाधि भिडन्तमा दुई फरक खेल शैलीबीच प्रतिस्पर्धा हुनेछ । बेंगलुरुले आक्रामक र निडर खेलमार्फत प्रतियोगितामा प्रभुत्व जमाएको छ भने गुजरातले संयमित र धैर्यपूर्ण प्रदर्शनका आधारमा पाँच वर्षमा तेस्रो पटक उपाधि भिडन्तमा स्थान बनाएको हो । बेंगलुरु बलियो दाबेदार देखिए पनि गुजरातलाई कमजोर आँक्न सकिने अवस्था छैन ।

बेंगलुरुको सफलतामा विराट कोहलीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । सुरुआती खेलहरूमा फिल साल्टसँग उनको साझेदारी प्रभावशाली थियो । तर साल्ट घाइते भएपछि वेंकटेश अय्यरले टोलीलाई मजबुत सुरुआत दिलाउँदै आएका छन् ।
गुजरातका लागि शीर्षक्रमका ब्याटरहरू मुख्य आधार हुन् । शुभमन गिल र साई सुदर्शनको जोडीले यस सिजन उत्कृष्ट प्रदर्शन गरेको छ । दुवैले छनोट चरणमा कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका छन् । उनीहरूको निरन्तर प्रदर्शनले गुजरातलाई उपाधिनजिक पु¥याएको छ । जोस बटलर पनि कुनै पनि बेला खेलको दिशा बदल्न सक्ने क्षमता भएका ब्याटर मानिन्छन् ।

बलिङमा बेंगलुरुका भुवनेश्वर कुमार र जोश हेजलउडले नयाँ बलबाट लगातार प्रभाव छाडेका छन् । उनीहरूले सुरुआती ओभरमै विपक्षीलाई दबाबमा पार्ने क्षमता देखाएका छन् । गुजरातका प्रमुख ब्याटरहरूलाई रोक्न उनीहरूको भूमिका निर्णायक बन्न सक्छ ।
यता गुजरातले पनि आफ्ना तीव्र गतिका बलरहरूबाट ठूलो अपेक्षा राखेको छ । कागिसो रबाडा, प्रसिद्ध कृष्णा र मोहम्मद सिराजको उत्कृष्ट प्रदर्शन गर्न सके बेंगलुरुको आक्रामक ब्याटिङलाई नियन्त्रण गर्न सक्ने विश्वास गरिएको छ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यस वर्षको उपाधि भिडन्त अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्