तिनाउ, २५ वैशाख ।
बागमती प्रदेशकी सांसद भारती पाठक ले सामुदायिक वनलाई कार्ययोजना अनुसार सञ्चालन गर्नुपर्ने बताएकी छन् । उनले कार्ययोजना सामुदायिक वनको संविधान सरह भएकाले त्यसमा उल्लेख भएका व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र तिनाउ गाउँपालिका कार्यालयबीच आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पाठकले कार्ययोजना समयअनुसार र आवश्यकता अनुसार संशोधन समेत गर्न सकिने तर्क दिईन । उनले वन सम्बन्धी कानुन तथा कार्ययोजनाले नै सामुदायिक वन सञ्चालनको आधार तय गर्ने उल्लेख गरिन् । वन संरक्षणदेखी उपयोगसम्ममा स्थानिय बासिन्दाहरुको महत्वपूर्ण योगदान रहेको उनले बताईन ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सामुदायिक वन संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिँदै सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । सामुदायिक वन संरक्षणकै कारण मानव, वन्यजन्तु र जडिबुटि संरक्षण भैरहेको उनको तर्कछ ।
कार्यक्रममा तिनाउ सामुदायिक वन उपभोक्ता संरक्षण समितिका अध्यक्ष दल बहादुर गुरुङले सामुदायिक वनको कार्ययोजनालाई “हतियार” का रूपमा व्याख्या गर्दै डिभिजन वन कार्यालयले पनि यही आधारमा काम अघि बढाउने बताए । उनले कार्ययोजनाबारे समुदायस्तरमा सचेतना बढाउन आवश्यक रहेको उल्लेख गरे । वन डढेलो रोक्न समुदायस्तरमा अग्नी रक्षक दस्ता, सचेतना कार्यक्रमलाई जोड दिएको उनले बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहलाई वन सम्बन्धी ऐन बनाउन सक्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै सामुदायिक वनको अधिकार संकुचन हुने गरी अध्यादेशमार्फत कानुन ल्याउन खोजिएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरूले सरोकारवालाबीच सहजीकरण, समन्वय र एकतामार्फत सामुदायिक वन संरक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे । तिनाउ गाउँपालिकामा हाल ८४ वटा सामुदायिक वन रहेको जनाइएको छ ।




















