बुटवल, १५ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगितामा विजयी हुदै साविक विजेता देवदह ब्वाईज देवदह अन्तिम चारमा स्थान बनाएको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनलमा देवदह ब्वाईजले शिवनगर युवा क्लब, बुटवललाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
देवदहको जितमा दुवै गोल मिलन आलेले गरे । विदेशी खेलाडीसहित रामनगर खेलमैदानमा शुरुवातबाट देवदहले खेल आफनो पक्षमा राखेको थियो । खेलमा मिलन आले म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको बुधबार दोस्रो क्वाटरफाइनल आयोजक लखन ब्रदर्श युवा क्लब र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच खेल हुने खेल संयोजक राम थापा मगरले जानकारी दिए ।
लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।





















