भैरहवा, १५ बैशाख ।
भैरहवामा सम्पन्न ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ को उपाधि तिरुपति स्पोटर्स क्लबले हात पारेको छ । मंगलबार सम्पन्न फाइनलमा आयोजक लुम्बिनी खुकुरी क्लबलाई ११ रनले पराजित गर्दै तिरुपतिले उपाधि चुमेको हो । उपाधिसँगै तिरुपतिले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा लुम्बिनी खुकुरी भने ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन बनायो । उसका लागि सार्दुल त्रिपाठीले ३२, आकाश त्रिपाठीले ३०, सन्दीप मौर्यले २१, इमरान शेख र मोम्मद हुसेन गद्दीले १३–१३ रन बनाए । लुम्बिनी खुकुरीका अनुराग यादव, बैतुल्लाह खान, प्रशान्त श्रीवास्तव र अजय चौहानले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १८.५ ओभरमा १ सय ३७ रनमा समेटियो । उसका लागि प्रशान्त श्रीवास्तवले ४८, समीर अली मुसलमानले ३० र अकलेश यादवले १७ रन बनाए । तिरुपतिका मोहम्मद हुसेनले ४, आकाश त्रिपाठीले ३ र सार्दुल त्रिपाठीले २ विकेट हात पारे । खेलमा आकाश त्रिपाठी म्यान अफ द फाइनल भई एक हजार ५ सय रूपैयाँ हात पारे ।
प्रतियोगितामा तिरुपतिका आकाश त्रिपाठी म्यान अफ द सिरिज घोषित हुदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, न्यु होराइजन क्रिकेट क्लबका अमर मिश्रा उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनी खुकुरीका बैतुल्लाह खान उत्कृष्ट बलर भए । उनीहरुले जनही ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
विजेता र उपविजेता टिमलाई आयोजक संस्था लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, व्यवसायी अमितकुमार गुप्ता, सिद्धार्थनगर–१ का वडाध्यक्ष उज्ज्वल पोखरेल, रूपन्देही क्रिकेट संघका अध्यक्ष हरिहादुर थापा, संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा, खेल संयोजक नन्दन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।





















