बुटवल, १२ वैशाख ।
डा.बिन्दा पाण्डेको संयोजकनमा तयार पारिएको पुस्तक ‘भूमिगत महिला’ माथि बुटवलमा गहन परिचर्चा गरिएको छ । मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित तथा डा. बिन्दा पाण्डेको संयोजकत्वमा तयार गरिएको उक्त कृतिलाई प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, रूपन्देहीको आयोजनामा बुटवलस्थित न्यू होराइजन माध्यमिक विद्यालयमा परिचर्चा गरिएको हो ।
कार्यक्रममा मुख्य वक्ता डा. बिन्दा पाण्डेले नेपाली क्रान्तिमा महिलाहरूको भूमिका सधैँ किनारामा पारिएको उल्लेख गर्दै वर्तमान स्वतन्त्रता भूमिगत महिलाहरूको त्याग र संघर्षको परिणाम भएको बताइन् । उनले सङ्ग्रहमा समेटिएका २८ महिला योद्धाहरूको जीवनकथाले महिलाहरू इतिहास निर्माण गर्ने अग्रणी शक्ति भएको प्रमाणित गर्ने धारणा राखिन् ।
परिचर्चामा दल बहादुर गुरुङ, ज्ञानु के.सी., सुमन पन्थी र नवराज पाण्डेलगायत वक्ताहरूले भूमिगत आन्दोलनमा महिलाहरूले खेलेको भूमिका र पुस्तकमा समेटिएका मार्मिक प्रसंगहरूबारे चर्चा गरे । उनीहरूले महिलाहरूले राज्यको दमनसँगै पारिवारिक जिम्मेवारी र ममतासँग पनि समानान्तर संघर्ष गर्नुपरेको उल्लेख गरे । नेपाली राजनीति र इतिहासको ओझेलमा परेको यथार्थ उजागर गर्ने ऐनाका रूपमा यो पुस्तक रहेको व्याख्या गरे ।
कार्यक्रममा शान्ता मानवी, अष्टलक्ष्मी शाक्य र गोमा देवकोटालगायत पात्रहरूको साहस र योगदानलाई प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो । त्यस्तै, लिला कट्टेल र सुशीला श्रेष्ठजस्ता योद्धाहरूले पञ्चायती व्यवस्थाविरुद्ध संगठन विस्तारमा खेलेको भूमिकाले वर्तमान गणतन्त्रको आधार निर्माण गरेको विश्लेषण गरिएको थियो ।
प्रलेस लुम्बिनी प्रदेश अध्यक्ष डा. मुरारि पराजुलीले साहित्यले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए भने बुटवल उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख गोमादेवी आचार्यले पुस्तकले महिलाहरूको त्यागलाई न्याय दिएको धारणा राखिन् । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यस्ता ऐतिहासिक विषय स्थानीय तहसम्म पुग्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रमको समापन गर्दै प्रलेस रूपन्देहीका अध्यक्ष कृष्ण घिमिरे ‘गाउँले’ ले पुस्तकलाई विगतको दस्तावेज मात्र नभई वर्तमान राजनीतिक विकृतिविरुद्धको वैचारिक हस्तक्षेपका रूपमा लिनुपर्ने बताए । उनले आगामी दिनमा पनि यस्ता ऐतिहासिक र वैचारिक विषयमा बहसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सहभागीहरूले भूमिगत आन्दोलनका योद्धाहरूको योगदानलाई भावी पुस्तासम्म पु¥याउन पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।





















