काठमाडौँ, १५ चैत ।
पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान बुढानीलकण्ठबाट उनलाई पक्राउ गरेको हो । सीआईबी प्रमुख मनोज केसीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । सोही आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
गत भदौ २४ गते भएको तोडफोड तथा आगजनी घटनापछि खड्कासहित शेरबहादुर देउवा र पुष्पकमल दाहालको निवासबाट जलेका नोटका अवशेष भेटिएको भिडियो तथा तस्बिर सार्वजनिक भएका थिए। ती सामग्रीको विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा पुष्टि भएको थियो ।
उक्त घटनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाउँदै विस्तृत छानबिनका लागि फाइल सीआईबीमा पठाएको थियो। त्यसकै आधारमा खड्कालाई पक्राउ गरिएको हो । यसअघि खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका बेला जलविद्युत् आयोजनाको लाइसेन्स वितरण र ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा विवादमा आएका थिए ।
लाइसेन्स र ठेक्का दिलाउने क्रममा मन्त्री निवास र मन्त्रालयमै बसेर चेकमार्फत लेनदेन गरेको आरोप उनीमाथि लागेको थियो, यद्यपि यस विषयमा औपचारिक अनुसन्धान हुन सकेको थिएन । यसैगरी, लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनासम्बन्धी प्रकरणमा पनि खड्काको नाम जोडिएको थियो ।






















