काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १३.५१ अंकले बढ्दै २,८१२.३४ बिन्दुमा पुगेको छ । मंगलबार ३४० कम्पनीका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १ लाख ६ हजार १४० पटक किनबेच हुँदा कुल १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
समूहगत प्रदर्शनतर्फ बैंकिङ ०.८४ प्रतिशत, विकास बैंक ०.६४ प्रतिशत, जलविद्युत् १.५९ प्रतिशत, लगानी ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत र म्युचुअल फन्ड ०.३६ प्रतिशतले बढेका छन् ।
यता वित्त ०.१९ प्रतिशत, होटल तथा पर्यटन ०.१७ प्रतिशत, जीवन बीमा ०.३१ प्रतिशत, लघुवित्त ०.२६ प्रतिशत, निर्जीवन बीमा ०.०३ प्रतिशत, व्यापार ०.२१ प्रतिशत र अन्य समूह ०.१० प्रतिशतले घटेका छन् ।
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट भने एनआइसी एसिया ग्रोथ फन्ड–२ मा देखिएको छ, जसको मूल्य ४.७४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ, जसको ५६ करोड ३७ लाख ६१ हजार ७२५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा शिवश्री हाइड्रोपावर लिमिटेड अग्रणी रहँदै १९ लाख २३ हजार ७४ कित्ता शेयर किनबेच भएको छ ।





















