काठमाडौं, २९ फागुन । राहदानी विभाग ले नयाँ प्रणाली जडानका कारण राहदानी सेवा केही दिन बन्द हुनसक्ने जनाएको छ। विभागले बिहीबार सूचना जारी गर्दै पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने प्रक्रियामा सेवा अवरुद्ध हुन सक्ने जानकारी गराएको हो।
सूचना अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने उल्लेख गरिएको छ।राहदानी विभागबाट प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ । विभागका अनुसार नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने छ।
सो अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।
आगामी २०८३ असोजभित्र राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन विभागले आग्रह गरेको छ।
नयाँ प्रणाली सुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी अर्को सूचनामार्फत् सार्वजनिक गरिने विभागले जनाएको छ।





















