काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित १८ जना नयाँ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन् ।
निर्वाचन आयोगका अनुसार कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन् । त्यस्तै, मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् भने कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार यस वर्ष फागुन २० गते १९ जना सांसदको कार्यकाल समाप्त भएको थियो । रिक्त रहेको एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने प्रावधान रहेको छ । माघ ११ गतेको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच चुनावी तालमेल भएको थियो ।




















