Spread the love

बुटवल, २५ फागुन ।
बुटवलका इतिहासविद तथा लेखक देबन्द्रराज शाक्यले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुलभ खरेललाई बधाईसहित विभिन्न विकास तथा ऐतिहासिक सम्पदासम्बन्धी सुझाव राख्दै पत्र पठाएका छन् । सामाजिक संजाल राखिएको पत्रमा खरेललाई अत्यधिक मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई दिँदै अब उनको जिम्मेवारी अझ बढेको उल्लेख गरिएको छ ।

उनले खरेल रुपन्देहीको मात्र नभई सिंगो देशको प्रतिनिधि भएकाले राष्ट्रिय हितका विषयमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको बताएका छन् । शाक्यले तिनाउ नदीमा निर्माण हुने राष्ट्रिय गौरवको आयोजना ‘सिग्नेचर पुल’को निर्माण कार्य सुरु गर्न पहल गर्न आग्रह गरेका छन् । साथै राष्ट्रिय समस्याका रूपमा रहेको सुकुम्बासी समस्या क्रमिक रूपमा समाधान गर्ने दिशामा ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

पत्रमा जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने सुझाव पनि दिइएको छ । त्यस्तै बुटवल गढीको युद्धमा विजय हासिल गरेका युद्ध नायक कर्णेल उजिर सिंह थापा, जितगढी किल्ला तथा सीमा रक्षक फौजदार मणिराजको तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।

त्यसैगरी पुरानो बटौली बजार क्षेत्रमा कुनै एक सरकारी कार्यालय स्थापना गर्न पहल गर्नुपर्ने, बटौली युद्ध संग्राहलयलाई शीघ्र सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाउनुपर्ने तथा बुटवल उपमहानगरपालिका–१ को ज्योतिनगर क्षेत्रमा देखिएको पहिरो समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

इतिहासविद शाक्यले बुटवलको ऐतिहासिक महत्व, सांस्कृतिक सम्पदा संरक्षण र स्थानीय विकासलाई प्राथमिकतामा राखेर काम गर्न सांसद खरेलसँग आग्रह गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्