काठमाडौँ, १९ फागुन ।
निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारीलाई सेवा समूहसम्बन्धी कानुनमा उल्लेखित आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ का प्रावधान अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।
आयोगद्वारा जारी आचारसंहितामा कुनै पनि कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ । निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय जिम्मेवारी तथ्यपरक र निष्पक्ष रूपमा निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ ।
आचारसंहिताअनुसार निर्वाचन अवधिभर मुलुकको प्रतिनिधित्वका लागि बाहेक अन्य प्रयोजनमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचन आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमण गर्न वा पठाउन पाइने छैन ।
त्यसैगरी, उम्मेदवार, राजनीतिक दल, तिनका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थानका भवन, अतिथि गृह, सभागृह, सवारी साधन तथा अन्य सरकारी सामग्री प्रयोग गर्न दिन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ । निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिताको पूर्ण पालना आवश्यक रहेको आयोगले स्पष्ट पारेको छ ।





















