Spread the love

 

बुटवल,९ फागुन । शुभयात्रा नेपाल रूपन्देहीले सञ्चालन गरेको वडास्तरीय छनौट तथा प्रशिक्षण अन्तर्गत तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । तिलोत्तमा नगरभित्रका सबै १७ वडाका विद्यार्थीबीच ‘असल नेतृत्व विकास’ अभियानसहित “मेरो वडा समस्या र सम्भावना” विषयमा छनौट चरणका कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतियोगितामा बुटवल पब्लिक स्कूलकी विद्यार्थी दिया सुवेदी प्रथम, न्यू इन्भाइरनमण्ट मा.वि.का विद्यार्थी विनिशा बगाले दोस्रो शान्ति नमूना मा.वि.का विद्यार्थी अनुश्री शर्मा तेस्रो भएको निर्णायक मनोज भट्टराईले बताए ।

प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः एघार हजार एकसय एघार, सातहजार सातसय सतहत्तर र पाँचहजार पाँचसय पचपन्न रूपियाँ बराबरको पुरस्कार प्राप्त गरेका छन् । अन्य सहभागीले एकहजार एकसय एघाररुपैयाँ प्रदान गरिएको संस्थाले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले शुभयात्रा नेपालको देवभूमि क्षेत्र (गण्डकी, कोशी, कर्णाली), सात गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटन प्रवद्र्धनसम्बन्धी पञ्चसूत्रीय योजना प्रशंसायोग्य रहेको बताए। आगामी दिनमा नगरपालिकाले संस्थासँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले संस्थाले करिब तीन दशकदेखि नेपाली माटोको आवश्यकता अनुसार विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

कार्यक्रममा तिलोत्तमा नगरसमितिका संयोजक ईश्वरीप्रसाद पाण्डे, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, शुभयात्रा नेपाल रूपन्देहीका कोषाध्यक्ष शोभा रानामगर, तिलोत्तमा–१० का वडाध्यक्ष गोपालप्रसाद घिमिरे, बालमैत्री सहजकर्ता लक्ष्मी ज्ञवाली, जानकीध्यान समितिका भगवता बेलबासे र कोटहीमाई समितिका बालकृष्ण न्यौपाने लगायतले आ–आफ्ना धारणा राखेका थिए।
संस्थाले गत कार्तिक अन्तिम सातादेखि तिलोत्तमाका सबै १७ वडामा पालैपालो छनौट प्रतियोगितासँगै प्रारम्भिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्