बुटवल, ९ फागुन । नेकपा (एमाले)का उम्मेदवार खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टराईले दैनिक घरदैलो, भेटघाट, कोणसभा तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएका हुन्।
शनिबार उनले कञ्चन, गैडहवा, लुम्बिनी र सैनामैना क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरे। भेटका क्रममा उनले आधुनिक कृषि प्रविधिको विस्तार, सहुलियत ऋणको व्यवस्था तथा उत्पादनको सुनिश्चित बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
गैडहवामा युवासँगको छलफलमा उनले रोजगारी सिर्जना, सीपमूलक तालिम र साना–मझौला उद्योग प्रवर्द्धनलाई विशेष प्राथमिकता दिने बताए। लामो समयदेखि राजनीति र सार्वजनिक जीवनमा सक्रिय भट्टराई यस क्षेत्रका समस्या, आवश्यकता र सम्भावनासँग परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्।
भेटघाटका क्रममा भट्टराईले विशेषगरी लुम्बिनी क्षेत्रको सम्भावनालाई केन्द्रमा राख्दै विकासको स्पष्ट खाका प्रस्तुत गर्दै लुम्बिनी केवल धार्मिक आस्था र पर्यटनको केन्द्र मात्र नभई आर्थिक समृद्धिको आधार बन्न सक्ने बताएका छन् । लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै पर्यटन पूर्वाधार विस्तार गर्ने योजना पनि अघि सार्न पर्ने बताएका छन् ।





















