बुटवल, १८ माघ ।
पछिल्लोसमय धार्मिकस्थलहरुमा युवाहरु जम्मा हुन्छन । माईक, बाद्यबाद्यन जोड्छन, भजनको तयारी गर्छन । साझ ठिक ५ बजे भजन शुरु गर्छन । नाच्छन, जम्छन, रमाउछन । वातावरण नै भजनमय गराउछन । धेरैलाई सुन्दा अचम्म लाग्छ । युवाहरु एकाएक भजनमा कसरी लागे ? कहाबाट आए भजन गाउने युवाहरु ? भजन गाउने युवाहरु को हुन भन्ने धेरैलाई कौतुहलता जागेको छ । युवाहरुको एमआरआर भजन समुह निक्कै भाइरल भएको छ । यतिमात्र होईन पालिकास्तरमा समेत भजन समुह गठन गर्ने लहर सामाजिक संजालमा देखिएको छ ।
यसरी भयो शुरुवात
सन २०१३ एउटा फेसबुकमा एकाउण्ट खुल्यो, मेन्स रुम (एमआर) । देशभरका जो १८ देखि ४० वर्ष उमेर समुहका युवाहरु यसमा जोडिदै गए । उनिहरु रमाईला भलाकुसारी गर्ने थलोको रुपमा यसलाई अघि बढाए । आफनो वरपरका घटनाक्रमलाई यसैमा राख्थे । सानातिना समस्याहरु समाधान हुन्थे । युवाहरुको आर्कषण बढ्दै जादा यो फेसबुक पेज क्रयास भयो । फेरि युवाहरुलाई जोड्ने गरि नया फेसबुक समुह बन्यो, मेन्स रुम रिलोडेड (एमआरआर) । नाम अनुसार पनि पुनः लोड भयो । रमाईलो गफगाफबाट शुरुवात भएको यो समुह बिस्तारै विकास निमार्ण, शिक्षा, स्वास्थ्य जस्ता विषयमा छलफल र एकतावद्ध हुने क्रम बढ्यो । विभिन्न स्थानमा हुने रगत अभाव, अपाङ्गता, असहाय र अलपत्र ब्यक्तिहरुलाई उद्धारसम्मको सहयोग गर्ने थलो यो बन्यो । यतिमात्र होईन अहिलेको भाईरल बनेको ‘रुटिङ्ग अफ नेपाल बन्द’ ले यही ग्रुपका समस्याहरु आफना पेजमा राख्दै गर्दा यो पेजसमेत हाईलाईट भयो । अहिले युवाहरु त्यो पेजलाई सुचना आदानप्रदानको रुपमा नेपालभित्र र बाहिर समेत नाम कमायो ।
रुपन्देही एमआरआर भजन
बुटवलमा साउनको पहिलो सोमबार एमआरआरको पहिलो भजन भयो, माझगाउँस्थित शिवदुर्गा मन्दिरमा । यो शुरुवातसंगै एकाएक यो समुह चर्चित भयो । बिस्तारै यो समुहमा बाद्यबाद्यन र भजन गायनमा युवाहरुको राम्रो उपस्थिती बढ्दै गयो । भदौ महिनाबाट भने प्रत्येक शनिबार साझ ५ देखि ७ बजेको समय दुई घण्टा भजन गर्ने एउटा तालिका तयार भयो । दिनभर आआफनो पेशा ब्यवसायमा रमाउने युवाहरु शनिबार भने त्यो तालिका अनुसार स्थानमा भेट्ने, भजन गाउने गर्न लागे । ‘श्री गणेशाय नमः’ भजनबाट शुरु भएर ५ दर्जन बढी भजन टुक्का दुई घण्टामा गाउने गरिन्छ । धार्मिक आस्था, संस्कृतिको संरक्षण र सामाजिक सद्भाव प्रवद्र्धनमा आफुहरु सफल रहेको अगुवा कमल (लम्बू सरकार) को भनाई छ । ‘हामीले कुनै शुल्क लिदैनौ । धार्मिकस्थलहरुमा धेरै माग आएको छ ।’–उनले भने । धार्मिकस्थलको छनौट, अवलोकन र सो समितिसंग छलफल पछि भजनको तयारी गर्ने गरेको उनले बताए । दक्षिणकाली मन्दिर देविनगर, दुर्गाशिव मन्दिर माझगाउ, देवस्थल मन्दिर योगीकुटी, श्रृगेश्वर धाम तिलोत्तमा, श्री मुक्तिनाथ धाम नयागाउमा भजन कार्यक्रम भएको छ । युवाहरुको अगुवाईमा शुरु भएको यो अभियान गैर नाफामुलक र गैरराजनीतिक भएको उनको तर्क छ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिरहदा केही राजनीतिक दलहरु भने यो समुहमा चुनावी प्रचारको थलो बनाउन चाहेकोप्रति उनले दुख ब्यक्त गरे । यो समुहमा सहभागी हुदा युवाहरु आआफनो आस्था र बिचारलाई नजोड्न उनको आग्रह छ । युवाहरुमा हिन्दु धर्मप्रतिको दबेको आस्था उजगार गर्ने माध्यम भजन बन्दै गएको उनले बताए । स्वतस्फर्त रुपमा युवाहरु जागेका उनी बताउछन । स्वतस्फुत भजनमा हुने भिड ब्यवस्थापनमा चुनौती बनेको छ ।
विदेशमा पनि भजन मोह
अहिले ‘एमआरआर भजन बुटवल’ टिकटक पेजमा १० हजार ५ सय बढी फलोअर्स रहेका छन । यसैगरि फेसबुक पेजमा ५४ हजार बढी सदस्य रहेका छन । समूहका सदस्यहरूले भजन केवल संगीत नभई आत्मिक शान्ति, नैतिक शिक्षा र सकारात्मक सोचको माध्यम भएको बताएको उनको दाबी छ । पछिल्लोसमय युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न भजन प्रभावकारी बन्दै गएको भजन समुहका अगुवा बताउछन ।
भजनमा करीब २० जना बाद्यबादनमा र अन्य करीब ५० बढी स्वयंसेवीका रुपमा भिड ब्यवस्थापनमा एमआरआरकै सदस्यहरुबाट सहयोग हुदै आएको अगुवा युवराज पाण्डेले बताए । एमआरआर भजन समूहले आगामी दिनमा सामाजिक सचेतना, धार्मिक कार्यक्रम र समुदायसँग जोडिने गतिविधि अझ विस्तार गर्ने योजना बनाएको छ । अहिले भजनमा गायनमा कृष्ण पाठक तथा बाद्यबाद्यनमा श्रीहरि भजन समुहले सहयोग गरेको छ । समुहको आफनै बाद्यबाद्यन र अन्य सबै सामानहरु आफनै लग्ने र भजन गाउने हुन्छ । बुटवलसंगै अहिले पोखरा, काठमाण्डौ, चितवन, बाग्लुङ्ग, नवलपुर, सुर्खेतमा समेत एमआरआर भजनमा सक्रिय भएका छन । यतिमात्र होईन विदेशमा जापान, कोरिया, अमेरिकाको टेक्सेसमा समेत भजन चलेको उनले बताए । पोर्चुगलमा भजन शुरु गर्ने तयारीमा रहेको छ । भजनमा युवाहरुको सहभागीता बाढी झै बढेको छ ।



















