Spread the love

मकवानपुर । क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका चारवटा विद्युतीय गाडीलाई मकवानपुर प्रहरीले कारबाही गरेको छ। बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै भीमफेदी गाउँपालिका–६ स्थित चेकप्वाइन्टमा इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीसहितको टोलीले गरेको चेकजाँचका क्रममा तोकिएको क्षमताभन्दा बढी सिट जडान गरिएका गाडी फेला परेका हुन्।

प्रहरीका अनुसार सवारी दर्ता किताबमा १४ सिट क्षमता उल्लेख भएका ती गाडीमा थप चार–चारवटा सिट जडान गरी सञ्चालन गरिएको पाइएको थियो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रतिगाडी १० हजार रुपैयाँका दरले कुल ४० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

साथै, स्थानीय सञ्चारकर्मीको रोहबरमा चारवटै गाडीमा जडान गरिएका अतिरिक्त सिटसमेत निकालिएको छ।

कारबाहीमा पर्ने सवारीसाधनमा बा.प्र.०८–००१ ज ००४२, बा.प्र.०१–००२ ज ६२३९, बा.प्र.०१–००२ ज ७००६ र बा.प्र.०१–००२ ज ६९८१ नम्बरका विद्युतीय गाडी रहेका छन्।

">
Bajaj Grand Exchange Mela