ललितपुर । स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको एकान्तकुनास्थित क्षेत्रमा अवैध रूपमा स्रोत नखुलेको रकम ओसारपसार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकले जारी गरेका आदेश तथा निर्देशनविपरीत गैरकानुनी रूपमा रकम ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा चेकजाँच गर्दा बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी कन्टेनरबाट १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरिएको हो।
पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी, भोजपुर नगरपालिका–३ का ३१ वर्षीय दीपक खड्का र काठमाडौं महानगरपालिका–१० बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।
प्रहरीले नगदसहित रकम ओसारपसारमा प्रयोग गरिएको मिनी कन्टेनर र विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।





















