काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो। लुम्बिनीको जितमा निरोशन डिकवेला नायक बने। उनले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २१ रनको योगदान दिए। सुदूरपश्चिमका थरिन्दु रत्नायकले २ विकेट लिए भने हेमन्त धामी र स्कट कुगलाइनले समान १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ईशान पाण्डेले ३३ बलमा २७ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए। किशोर महतो र अभिषेक गौतमले समान १ विकेट हात पारे। लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनीले सात खेलबाट ११ अंक जोडेको थियो। पाँच खेलमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनी पहिलो क्वालिफायरमा पुगेको थियो।
दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले सात खेलबाट १० अंक जोडेको थियो। उसले पाँच खेल जित्दा दुई खेलमा हार बेहोरेको थियो।
पहिलो क्वालिफायर जितेसँगै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको छ। पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको छ। सुदूरपश्चिमले बुधबार हुने काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।





















