काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ। जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनमा समेटियो। जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए। सैफ हसनले २८ तथा आदित्य महतोले २४ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
लुम्बिनीका बलर डिआर्ची शर्टले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। तिलक भण्डारी र शेर मल्लले २–२ तथा रुबेन ट्रम्पेलम्यानले १ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे। सामिम हुसैनले १३ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाए। जनकपुरका राहुल यादव र विशाल सुश्लिङले २–२ विकेट लिए। ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १ विकेट हात पारे।
यस जितसँगै लुम्बिनी लायन्सले ४ खेलबाट ७ अंक जोडेको छ। टोली अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा छ। ५ खेल खेलेको जनकपुरको भने यो तेस्रो हार हो। दुई खेलमा जित निकालेको जनकपुर ४ अंकसहित अंक तालिकामा रहेको छ।




















