सुर्खेत,१७ कार्तिक ।
कार्तिक १३ गते राति डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये दुई जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार रुकुम पश्चिममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।
प्रहरीका अनुसार चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले आठबिसकोट नगरपालिका–६ स्थित दामाचौरको खोली बगरमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई फेला पारेको हुन् । फरार भएका अन्य कैदिबन्दीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




















