बुटवल । रुपन्देहीको तिलोत्तमामा फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिमा आधारित अत्याधुनिक अल्ट्रासाउण्ड डायग्नोस्टिक सेवा सञ्चालनमा आएको छ । निदान अल्ट्रासाउण्ड डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरले नयाँ प्रविधिका उपकरण जडान गरी सेवा विस्तार गरेको हो ।
विगत दुई दशकदेखी अल्ट्रासाउण्ड तथा निदान सेवा प्रदान गर्दै आएको सेन्टरले साढे दुई करोड रुपैयाँभन्दा बढी लगानीमा नयाँ उपकरण भित्राएको छ । नयाँ प्रविधिबाट गर्भावस्थामा शिशुको अवस्था मूल्याङ्कन गर्न, महिलासम्बन्धी विभिन्न स्वास्थ्य समस्याको परीक्षण गर्न तथा कलेजोको अवस्थाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सेन्टरका वरिष्ठ रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले नयाँ उपकरणले रोगको समयमै पहिचान तथा निदान प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।
उनका अनुसार परीक्षणको गुणस्तर र नतिजाको विश्वसनीयता बढाउने उद्देश्यले अत्याधुनिक उपकरण जडान गरिएको हो । उनले रोगको समयमै पहिचान र उपचारका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गर्दै प्रविधिको विकाससँगै निदान सेवाको गुणस्तरमा पनि सुधार गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व कार्यकारी प्रमुखसमेत रहेका डा. खनालले दुर्गम क्षेत्रमा निःशुल्क अल्ट्रासाउण्ड स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनले दूरदराजका स्वास्थ्यकर्मीलाई अल्ट्रासाउण्डसम्बन्धी प्राविधिक ज्ञान प्रदान गर्नसमेत योगदान गर्दै आएका छन् । डा. खनालले स्वास्थ्य सेवा सुधारका लागि आधुनिक प्रविधिको प्रयोगसँगै नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन र चिकित्सकीय इमानदारी आवश्यक रहेको बताए ।





















