Spread the love

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सञ्चारगृहमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्ने तथा धरपकड गर्ने शैलीलाई शाही कालको निरंकुशताको झल्को दिने कार्यका रूपमा टिप्पणी गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनदबाबपछि रिहाइ गर्ने प्रवृत्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । कानुनविपरीत पक्राउ र सञ्चारकर्मीमाथि हुने ह्यारेसमेन्ट बन्द गर्न सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा विगतमा पनि शासकहरूमाथि प्रश्न उठाउँदा सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धावा बोल्ने घटनाहरू भएको स्मरण गराइएको छ । अहिले पुनः त्यस्तै प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि दुःखद र चिन्ताजनक विषय भएको कांग्रेसको भनाइ छ । नेपाली कांग्रेसले स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा निरन्तर लड्दै आएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको जनाएको छ ।

कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया हुँदाहुँदै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको मर्मविपरीत भएको कांग्रेसको ठहर छ । विज्ञप्तिमा कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति तर्फ सरकार उन्मुख भएको आरोपसमेत लगाइएको छ । सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको यस्तो कदमलाई लोकतन्त्रविरोधी, निन्दनीय र घोर आपत्तिजनक भन्दै कांग्रेसले कडा शब्दमा भत्र्सना गरेको छ ।

कांग्रेसले सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन जोडदार माग गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्