रूपन्देही । लमजुङकी चेली डा. रस्ना श्रेष्ठ सन् २०२६ को ‘मिसेस नेपाल वल्र्ड’ प्रतियोगिताको अन्तिम २२ प्रतिस्पर्धीमा छनोट भएकी छिन्। प्रतियोगिताको ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनलाई विजयी बनाउन लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीले भोटसहित सहयोग र समर्थन गर्न सबैमा अपिल गरेको छ ।
समाजका सल्लाहकार विष्णुकुमार श्रेष्ठकी सुपुत्री डा. रस्ना प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल भएपछि समाजले उनको उपलब्धिलाई लमजुङका लागि गौरवको विषयका रूपमा लिएको छ । डा. रस्नाको सफलताले लमजुङवासी तथा रूपन्देहीमा रहेका लमजुङेलीको प्रतिष्ठा बढाएको उल्लेख गर्दै उनलाई प्रतियोगितामा विजयी गराउन उनले आग्रह गरेका छन ।
रिवन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको ‘मिसेस नेपाल वल्र्ड २०२६’ मा विभिन्न पेसा र क्षेत्रमा आबद्ध २२ जना महिला अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । प्रतियोगितामा गृहिणीदेखि चिकित्सक, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यकर्मी, नर्स तथा फेसन डिजाइनरसम्मका महिलाहरू सहभागी छन् । प्रतियोगिताले विवाहित महिलालाई आफ्नो प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ ।
प्रतियोगिताको ग्रान्ड फिनाले २०८३ कात्तिक १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ । प्रतियोगितामा विजयी हुने ‘मिसेस नेपाल वल्र्ड २०२६’ ले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । यसै मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’ का विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ ।
लमजुङबाट रूपन्देहीमा आएर विभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरूलाई आफ्नो माटोकी चेलीको सफलताका लागि एकजुट हुन आग्रह गर्दै समाजले डा. रस्नालाई प्रतियोगिताको विजेता बनाउन सहयोग गर्न सबैमा अपिल गरेको छ ।




















