Spread the love

काठमाडौं । आगामी मंगलबारदेखि नेपालका धेरै क्षेत्रमा एक साताभन्दा बढी समय वर्षा हुने सम्भावना देखिएको छ। मौसमविद् विनोद पोखरेलले बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

मौसम पूर्वानुमानका विभिन्न मोडेलले आगामी सातादेखि देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना देखाएको पोखरेलले बताएका छन् । उनका अनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्छ। तर, वर्षा हुने स्थान र मात्राबारे विभिन्न मोडेलमा फरक संकेत देखिएकाले अहिले नै कुन क्षेत्रमा कति पानी पर्छ भन्ने यकिन गर्न कठिन छ।

पोखरेलले मौसमको पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले नियमित अपडेटमा ध्यान दिनुपर्ने बताएका छन्। विशेषगरी धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरेर योजना बनाउन उनले सुझाव दिएका छन्।

मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भए त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि काट्ने गरी योजना मिलाउनु उपयुक्त हुने उनको भनाइ छ। केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेकाले कृषि उपजको सुरक्षामा ध्यान दिनसमेत उनले आग्रह गरेका छन्।

त्यस्तै, हिमाली क्षेत्रमा मौसमका कारण जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनले बताएका छन्। यात्रा वा ट्रेकिङमा रहेका तथा जाने तयारीमा रहेकाहरूलाई मौसमको नियमित जानकारी लिन र आधिकारिक सूचनाका आधारमा यात्रा योजना बनाउन उनको सुझाव छ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै किसान, यात्रु तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसम पूर्वानुमान र सम्बन्धित निकायका सूचनालाई पछ्याउनु आवश्यक देखिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्