काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशी बाढीबाट प्रभावित २ हजार १६४ परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराएको छ ।
बाढीबाट प्रभावित रसुवाको उत्तरगया, नुवाकोटको विदुर तथा धादिङका गल्छी र गजुरी क्षेत्रका परिवारलाई उक्त सहायता रकम प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
रेडक्रसले बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई राहत पु¥याउने उद्देश्यले कुल ५ हजार परिवारलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराउने योजना बनाएको छ । हालसम्म २ हजार १६४ परिवारले सहायता प्राप्त गरेका छन् ।
बहुउद्देश्यीय नगद सहायता विपद्का कारण समस्यामा परेका परिवारलाई तत्कालका आधारभूत आवश्यकता पूरा गर्न सहयोग गर्ने मानवीय कार्यक्रम हो । यसअन्तर्गत प्रभावित परिवारलाई नगद रकम उपलब्ध गराइन्छ, जसबाट उनीहरूले आफ्नो आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि तथा आवाससम्बन्धी सामग्री खरिद गर्न सक्छन् ।
नगद सहायता पाउने परिवारले आफूलाई तत्काल आवश्यक पर्ने सामग्री छनोट गरी खर्च गर्न सक्ने भएकाले यसले विपद्पछिको दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






















