अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ स्थित भूमेकाथान नजिकै मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान नगरपालिका–८, नुवाकोटका देविराम आचार्य र उनका छोरा विवेक आचार्यको ज्यान गएको हो । उनीहरू सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल बिहीबार बिहान भूमेकाथान नजिकैको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार आचार्य बाबुछोरा कात्तिक ४ गते टीकाको दिन दिउँसो करिब ३ बजे नुवाकोटस्थित घरबाट भूमिकास्थान–२, ढाकावाङको अम्लाचौरस्थित ससुराली घर जाने क्रममा सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार प्रारम्भिक अनुसन्धानमा भूमेकाथान नजिकै ओरालो पक्की सडकको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई सालको रूखमा ठोक्किएको देखिएको छ ।
दुर्घटनापछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेको अवस्थामा फेला परेको थियो भने बाबुछोराको शव सडकबाट करिब ४० मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।






















