काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीको शुभ साइतमा बडादसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपतिले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयले यसबारे जानकारी दिएको हो ।
त्यसैगरी, उपराष्ट्रपति यादवले पनि उपराष्ट्रपति भवन लैनचौरमा बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् ।
उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवका अनुसार गुरुपुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपति यादवले परिवारका सदस्यलाई पनि टीका लगाइदिएका थिए ।
नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पर्व मनाउने परम्परा छ ।






















