मकवानपुर । संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको आरोपमा मकवानपुरबाट तीन जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाट, काठमाडौंको टोलीले इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरसँगको समन्वयमा बिहीबार हेटौंडा उपमहानगरपालिका–१९ स्थित सार्वजनिक स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ का ४९ वर्षीय मानबहादुर गोले, हेटौंडा–१० का ७९ वर्षीय चतुरसिंह लामा वाइबा र रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–२ का ५८ वर्षीय श्रीबहादुर जिम्बा रहेका छन्।
सीआईबीका अनुसार अवैध रूपमा ओसारपसार गरी खरिदबिक्री गर्न ल्याइएको हात्तीको दाह्रा जस्तो देखिने एक थान आखेटोपहारसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट २ किलो ७०० ग्राम तौल भएको हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत डिभिजन वन कार्यालय, राप्ती, मनहरीमा बुझाइएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।





















