बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ को फाइनल खेल हेर्न टिकट काट्ने प्रतीक्षामा रहेका दर्शक तोकिएको समयमै टिकट बिक्री सुरु भएपछि केही सेकेन्डमै ‘सोल्ड आउट’ देखिँदा निराश बनेका छन् ।
फाइनल खेलको टिकट अनलाइनमार्फत दिउँसो १ बजे बिक्री खुला हुने भनिएपछि हजारौँ दर्शक टिकट खरिदका लागि प्रतीक्षामा थिए । तर बिक्री खुला भएको केही सेकेन्डमै टिकट सकिएको सूचना देखिएपछि दर्शकले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।
देवदहका अनन्त भण्डारी टिकट पक्का भएपनि रात्रीबसमा काठमाण्डौ जाने सोच बनाएको बताए । तर एकाएक टिकट पाउन नसक्दा उनि दुखी छन । खस्यौलीखबरलाई टेलिफोन वार्तामा अनलाईन टिकट बिक्रीको नाममा गलत काम भएको दाबी गरे । ‘कसरी यस्तो भयो छानबिन हुनुपर्छ ?’– उनले भने ।
टिकट बिक्री सुरु भएको केही सेकेन्डमै सबै टिकट सकिएको देखिएपछि सामाजिक सञ्जालमा टिकट व्यवस्थापन र बिक्री प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाइएको छ । टिकट खरिद गर्न लामो समयदेखि प्रतीक्षा गरेका दर्शकले सहज रूपमा टिकट पाउन नसकेको भन्दै विरोध जनाइरहेका छन् ।
कुल १५ हजार टिकट निमेषभरमा सकिनु सामान्य नभएको भलिबलका प्रशिक्षक अर्जुन घिमिरे बताउछन । खेलकुदमा क्रेज बढेको राम्रो हो तर त्यसलाई दुरुपयोग गरि टिकट ब्लाकमा बेच्ने काम भएमा राम्रो नहुने उनको तर्क छ । ‘अनलाईनको नाममा गरिने पारदर्शीताको विश्वास गुम्छ ।’–उनले भने ।
विशेषगरी टिकट बिक्रीका लागि उपलब्ध गराइएको संख्या, अनलाइन प्रणालीको क्षमता, बिक्री सुरु भएको वास्तविक समय र टिकट खरिद प्रक्रियाबारे आयोजकले स्पष्ट जानकारी दिनुपर्ने माग दर्शकले गरेका छन् । यद्यपि केही सेकेन्डमै ‘सोल्ड आउट’ देखिनुको वास्तविक कारण र कति टिकट सफल भुक्तानीमार्फत बिक्री भए भन्ने विषयमा आधिकारिक विवरण आवश्यक देखिन्छ ।





















