Spread the love

बुटवल, ४ मंसिर ।

 बुटवल कालिकानगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका १८ जना विद्यार्थी चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षामा सफल भएका छन् ।

प्रवेश परीक्षाको सार्वजनिक नतिजाअनुसार विद्यालयका विद्यार्थी शिशिर मल्लले देशभरबाट दसौँ स्थान हासिल गरेका छन् । विद्यालयका अन्य १७ विद्यार्थीले पनि प्रतिस्पर्धात्मक परीक्षामा सफलता प्राप्त गरेका हुन् ।

एकैपटक १८ जना विद्यार्थीले देशभरको प्रतिस्पर्धामा ४०० भित्र स्थान हासिल गर्नु विज्ञान सङ्काय र विद्यालयका लागि महत्त्वपूर्ण उपलब्धि भएको विद्यालयका विज्ञान सङ्काय संयोजक कृष्ण अधिकारीले बताए । अन्य क्लस्टरका विद्यार्थीसमेत जोड्दा सफल हुने विद्यार्थीको सङ्ख्या ३५ भन्दा बढी पुग्ने उनले जानकारी दिए । अधिकारीका अनुसार योजनाबद्ध पठनपाठन, नियमित मूल्याङ्कन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

विद्यालयका प्राचार्य विष्णुहरि ज्ञवालीले यस नतिजाले सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताए । ‘विद्यार्थीको निरन्तर मेहनत, अभिभावकको विश्वास र शिक्षकको समर्पणका कारण विद्यालयले गौरवपूर्ण सफलता हासिल गरेको हो,’ उनले भने ।

सामुदायिक विद्यालयतर्फ नमुना विद्यालयका रूपमा परिचित कालिका मानवज्ञान माध्यमिक विद्यालयले चिकित्सा शिक्षा प्रवेश परीक्षामा प्राप्त गरेको यस सफलताले विद्यालयको शैक्षिक पहिचानलाई थप बलियो बनाएको छ ।

">
Bajaj Grand Exchange Mela