Spread the love

चितवन । मुक्तिनाथबाट सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरको त्रिवेणीधाममा पुगेर सम्पन्न भएको छ । कात्तिक ८ गते मुक्तिनाथबाट सुरु भएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलको परिक्रमा गर्दै सोमबार गजेन्द्रमोक्ष दिव्यधाम पुगेको हो ।

मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यको सङ्कल्पमा सुरु भएको रथयात्रा पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः त्रिवेणीधाम आइपुगेको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए ।

रथयात्राका क्रममा मेची र महाकालीको जल सङ्कलन गरिएको र उक्त जल गण्डकी नदीमा अर्पण गरिने उनले बताए । रथयात्राको स्वागत तथा दर्शनका लागि विभिन्न स्थानमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।

रथयात्रा सम्पन्न भएसँगै त्रिवेणीधाममा आजदेखि एकमहिने धार्मिक महायज्ञ सुरु हुँदैछ । महायज्ञको पहिलो दिन सामूहिक गौपूजा, गण्डकी पूजन, कलश यात्रा, कन्या पूजा तथा दीप प्रज्वलनलगायत कार्यक्रम राखिएको छ । बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने आयोजकले जनाएको छ ।

मुक्तिनाथबाबा कमलनयनाचार्यका अनुसार महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान सञ्चालन हुनेछन् ।

प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएकाहरूको आत्माको उद्धार र शान्तिको कामनासहित पितृमुक्ति महायज्ञ आयोजना गरिएको उनले बताए ।

एक महिनासम्म सञ्चालन हुने महायज्ञको अर्को उद्देश्य नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु रहेको पनि कमलनयनाचार्यले जानकारी दिएका छन् । उनले धार्मिक अनुष्ठानमा सहभागी भई जप, ध्यान तथा यज्ञशालाको परिक्रमा गर्न भक्तजनलाई आग्रह गरेका छन् ।

">
Bajaj Grand Exchange Mela