काठमाडौं । उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्वको अन्तिम दिन सोमबार बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई दूध, जल र फूलसहित अघ्र्य अर्पण गरेका हुन् ।
सूर्यदेवको उपासना र आराधना गरिने छठ पर्वको अन्तिम दिन बिहानै व्रतालुहरू नदी, तलाउ तथा जलाशयका किनारमा बनाइएका छठ घाटमा पुगेर उदाउँदो सूर्यको पूजा गरेका थिए । सूर्योदयअघि कम्मरसम्म पानीमा उभिएर सूर्यको प्रतीक्षा गर्ने र सूर्योदयसँगै अघ्र्य अर्पण गर्ने धार्मिक परम्परा छ। बिहान गरिने यस पूजालाई भिन्सरघाट भनिन्छ ।
छठ पर्वका अवसरमा काठमाडौंका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली र बल्खुलगायत स्थानमा विशेष छठ घाट आकर्षक रूपमा सजाइएको थियो।
जल र सूर्यलाई जीवन तथा जगत्को संरक्षणको प्रमुख आधार मान्दै सूर्यदेवको विशेष आराधना गर्ने धार्मिक विश्वासका साथ छठ पर्व मनाइन्छ। यस पर्वमा विवाहित महिला तथा पुरुषले पति–पत्नीको दीर्घायु, अविवाहिताले सुयोग्य जीवनसाथी र सन्तान प्राप्तिको कामनासहित व्रत बस्ने धार्मिक परम्परा रहेको छ ।
विशेषगरी तराई–मधेसमा मिथिला संस्कृतिसँग जोडिएर मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौंलगायत पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि विस्तार भएको छ। अहिले सबै धर्म र समुदायका मानिसको सहभागितासहित छठ पर्व देशव्यापी रूपमा मनाउने क्रम बढेको छ ।





















