Spread the love

बुटवल । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा तीन बालिकासहित एक महिला रहेका छन्। प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा बुङ्गल नगरपालिका–१० निवासी ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र ४ वर्षीया रियास महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा तीन जनाको शव फेला परेको थियो भने खोजीका क्रममा थप एक बालिकाको शव फेला परेको हो। अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। सवारमध्ये १२/१३ वर्षीय विक्रम महरा सकुशल घर गएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न अटो चालक बुङ्गल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

">
Bajaj Grand Exchange Mela