बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले नयाँ सदस्यलाई रोटरीको उद्देश्य, मूल्य–मान्यता, नेतृत्व विकास तथा क्लबका गतिविधिबारे जानकारी गराउने उद्देश्यले नयाँ सदस्य दीक्षान्त तथा क्लब सदस्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको जोन २६ का सहायक गभर्नर नुमलाल पौडेलले उद्घाटन गर्दै क्लबमा अनुभवी तथा सक्षम प्रशिक्षकहरू रहेको उल्लेख गर्दै सदस्यहरूमा रोटरीको नेतृत्व गर्न सक्ने क्षमता रहेको बताए । कार्यक्रममा क्लब अध्यक्ष धर्मदत्त ज्ञवालीले यस वर्ष क्लबमा प्रवेश गरेका नया सदस्यहरुलाई रोटरीबारे ज्ञान दिने गरि कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक उमेश आचार्यले रोटरीको इतिहास, स्थापना, उद्देश्य तथा विश्वव्यापी सेवामूलक गतिविधिबारे जानकारी गराएका थिए । उनले रोटरीको मूल भावना तथा सेवामार्फत समाजमा पु¥याउँदै आएको योगदानबारे नयाँ सदस्यलाई अभिमुखीकरण गराए ।
यसैगरि पूर्वअध्यक्ष जीवन अधिकारीले फोर वे टेस्ट सिद्धान्त र यसलाई दैनिक जीवनमा लागू गर्न सके हुने फाईदाबारे प्रकाश पारे । व्यक्तिगत तथा सामाजिक जीवनलाई सकारात्मक र व्यवस्थित बनाउन यो उपयोगी हुने उनले बताए ।
पूर्वअध्यक्ष तथा जोन २७ का सहायक गभर्नर शिव ज्ञवालीले रोटरीमा नेतृत्व विकासका अवसरबारे जानकारी गराउँदै साना–साना जिम्मेवारी लिँदै तथा कार्यक्रमको संयोजन गर्दै अघि बढ्दा नेतृत्व क्षमता विकास हुने बताए ।
क्लबका पूर्वअध्यक्ष राजेन्द्र ढकालले रोटरी क्लबका पाँचवटा स्थायी समितिको भूमिका, जिम्मेवारी तथा क्लब सञ्चालनमा तिनको महत्वबारे जानकारी गराए । क्लबका पूर्वअध्यक्ष बाबुराम बञ्जाडेले रोटरी फाउन्डेसन बारेमा जानकारी दिँदै फाउन्डेसनमा योगदान गर्नुको महत्वबारे प्रकाश पारे । कार्यक्रममा १५ जना नयाँ सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको क्लब सचिव रोटेरियन योगेन्द्र पन्थीले बताए ।



















