काठमाडौं,३ असोज ।
आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै संविधान दिवस मनाउन लागिएको हो । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप वि.स २०७२ असोज ३ गते दोस्रो संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो ।
संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न उच्च पदस्थ अधिकारी तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ । त्यस्तै, देशका विभिन्न जिल्लामा प्रभातफेरी, सरसफाइ, अन्तरक्रिया, गोष्ठी, जनचेतनामूलक कार्यक्रम, दीप प्रज्ज्वलनलगायतका कार्यक्रम आयोजना गरिएका छन् ।
सरकारी कार्यालय, स्थानीय तह, विभिन्न संघसंस्था तथा नागरिक समाजले समेत दिवसका अवसरमा विविध कार्यक्रम गरिरहेका छन् ।



















