काठमाडौं । काठमाडौं प्रहरीले ३२९.०५ ग्राम लागुऔषधजस्तो देखिने पदार्थ, ट्रामाडोल र नाइट्राजेपामसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, ललितपुर महानगरपालिका–४ का ५१ वर्षीय सलिन श्रेष्ठ, काठमाडौं महानगरपालिका–१४ बल्खुका ५१ वर्षीय भूपेन्द्र श्रेष्ठ र सर्लाही बरहथवा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्ने ४० वर्षीय सुजन रायमाझी रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन १८ गते दिउँसो करिब ३ बजे काठमाडौं महानगरपालिका–९ नागपोखरीस्थित प्रभात तिवारीको घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले घरको कोठा तथा बा ७ च ५१८० नम्बरको सवारीसाधन चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३२९.०५ ग्राम, २२१ क्याप्सुल ट्रामाडोल र १०० ट्याब्लेट नाइट्राजेपाम बरामद भएको प्रहरी प्रबक्ता प्रहरी उपरीक्षक दान बहादुर थापाले बताए ।
त्यस्तै, प्रहरीले नगद १ लाख ९८ हजार ३२५ रुपैयाँ, तीन थान ल्यापटप, एक थान तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम पेपर रोल र चार थान मोबाइल समेत नियन्त्रणमा लिएको छ ।




















