बुटवल । बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममार्फत नवउद्यमीलाई व्यवसाय सञ्चालन, व्यवस्थापन तथा बजार विस्तारसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको छ ।
संघमा सोमबार आयोजित समापन कार्यक्रममा संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्यमशीलता विकासका लागि नवउद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विगतदेखि बिजनेस इन्क्युबेशन कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यसपटक बिजनेस इन्क्युबेशनकै मोडालिटीमा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले नवउद्यमीलाई व्यवसाय स्थापना र विस्तारका लागि आवश्यक ज्ञान, सीप तथा आत्मविश्वास प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । यस्ता कार्यक्रमले औद्योगिक विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पु¥याउने उनको विश्वास थियो ।
संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीका अनुसार २०७६ सालदेखि सञ्चालन हुँदै आएको बिजनेस इन्क्युबेशन कार्यक्रमलाई यस वर्ष औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा व्यवसाय प्रवद्र्धन कार्यक्रमका रूपमा अघि बढाइएको हो । कार्यक्रममा १३ जना नवउद्यमी सहभागी थिए । कार्यक्रम अवधिभर सहभागीलाई अनुभवी मेन्टर तथा सहजकर्तामार्फत नियमित परामर्श, सफल उद्यमीबाट बिजनेस कोचिङ, नेटवर्किङ, लेखा व्यवस्थापनलगायत व्यवसाय सञ्चालनका व्यावहारिक पक्षमा प्रशिक्षण दिइएको कार्कीले बताए ।
सहभागी उद्यमीहरूले आफ्ना व्यवसायको वर्तमान अवस्था, तालिमबाट प्राप्त अनुभव तथा भावी योजनाबारे प्रस्तुति दिएका थिए । नेपालमै उत्पादन हुने ‘को–को चकलेट’का सञ्चालक मोहित भुसाल, स्वादिष्ट फुड एण्ड प्याकेजिङकी सुमित्रा अर्याल, अल्बाट्रोस ट्रेजर्सकी सिमरन सुनार, सावित्रा ब्युटी पार्लरकी सावित्रा खत्री, सोनी ब्युटी पार्लरकी सावित्रा थापा, एकीकृत मोरङ्गा कृषि फर्मकी जानकी घिमिरे तथा दुना–टपरी उद्योगकी बालिका घिमिरेले आफ्ना व्यवसायका अनुभव, तालिमबाट प्राप्त उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए । सो अवसरमा सहभागी उद्यमीहरूले उत्पादन गरेका सामग्रीको डेमोन्स्ट्रेसनसमेत गरिएको थियो । संघका अनुसार अघिल्ला संस्करणमा सहभागी अधिकांश नवउद्यमी अहिले सफलतापूर्वक व्यवसाय सञ्चालन गर्दै विस्तारको चरणमा पुगेका छन् ।
समापन कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारी, कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका–४ का अध्यक्ष नरिश्वर शर्मा, संघमा गठित ब्युटीपार्लर वस्तुगत समितिकी सभापति रेनु कर्माचार्यलगायतले सहभागी नवउद्यमीलाई सफल उद्यमशील यात्राको शुभकामना दिएका थिए ।





















