Spread the love

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। त्यस्तै, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम हुन सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन विभागले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्