बुटवल, ५ साउन ।
सरकारले लागू गरेको स्वास्थ्य सेवा कर र ब्यवसाय दर्तामा देखिएका झण्झटिलो प्रक्रिया हटाउन लुम्बिनी प्रदेशका आयुर्वेद औषधी ब्यवसायीहरुले आग्रह गरेका छन । नेपाल आयुर्वेद औषधी व्यावसायी संघ लुम्बिनी प्रदेश समितिको बुटवलमा लिट्स कलेजको सभाहलमा बसेको दोस्रो बैठकमा बोल्ने बक्ताहरुले प्रभावकारी सेवा प्रदान गर्दै आएको ब्यवसायीहरुको हकहितमा नीतिगत पहल गर्न ब्यवसायीहरुले माग गरेका हुन ।
बैठकमा प्रदेश अध्यक्ष बाबुराम खनालले नेपाल सरकारबाट हालै लागू गरेको स्वास्थ्य सेवा कर समयसापेक्ष नभएको भन्दै यसलाई परिमार्जन जरुरी रहेको बताए । क्लिनिक, पोलिक्लिनिक वा अस्पताल दर्ता गर्ने क्रममा सम्बन्धित निकायले व्यवसायीलाई अनावश्यक झन्झट नदिई आवश्यक सहजीकरण गर्न आग्रह गर्ने निर्णय गरिएको छ । बैठकले निवर्तमान प्रदेश अध्यक्ष देवबहादुर बस्नेतसहित अघिल्लो कार्यसमितिलाई सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गर्नुका साथै प्रदेश अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समितिसहित सबै सरोकारवालाप्रति आभार व्यक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी, हालै निर्वाचित रुपन्देहीका कृष्णबहादुर केसी, कपिलवस्तुका मतिराज घिमिरे, बाँकेकी मन्दिरा शर्मा र दाङका डा. केशव न्यौपानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
बैठकले प्रदेशअन्तर्गतका जिल्लामा संगठन विस्तार र समन्वयलाई प्रभावकारी बनाउन जिल्ला इन्चार्ज समेत तोकेको छ । जसअनुसार रुपन्देहीमा झबिन्द्र प्रसाद पौडेल, अर्घाखाँचीमा बाबुराम खनाल, कपिलवस्तु र प्युठानमा गोपाल बन्जाडे, गुल्मीमा रमेश अधिकारी, नवलपरासीमा सन्तोष कडेल र इस्ताफिन अन्सारी तथा बाँके र बर्दियामा भास्कर देवकोटा र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ । बाँकी जिल्लाको जिम्मेवारी आगामी बैठकबाट तय गरिने सचिव गोपाल बन्जाडेले जानकारी दिए ।
यस्तै, नेपाल औषधी व्यावसायी संघ केन्द्रीय कार्यालयको निर्देशनअनुसार नयाँ सदस्य दर्ता तथा पुराना सदस्यको नवीकरण सम्बन्धी सम्पूर्ण प्रक्रिया आगामी साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पन्न गरी प्रदेशमा विवरण पठाउन सम्बन्धित जिल्लालाई अनुरोध गर्ने निर्णय भएको प्रदेश अध्यक्ष बाबुराम खनालले जानकारी दिए ।




















