काठमाडौँ,१साउन ।
सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तीनमहिने डेङ्गु सचेतना अभियान अन्तर्गत लामखुट्टेको प्रजननस्थल तथा बासस्थानको खोजी तथा नष्ट गर्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा ‘लामखुट्टेको प्रजननस्थल तथा बासस्थान खोजी तथा नष्ट अभियान’ सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कशप÷ग्यारेज, कबाडी समान व्यवस्थापन स्थल, निर्माणाधीन भवन तथा पानी जम्ने सम्भावना भएका अन्य स्थानको नियमित अनुमगन गर्ने र जमेको पानीको निकास तथा व्यवस्थापन गर्नुपर्नेछ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले साउनदेखि डेङ्गुको सङ्क्रमण विस्तारै बढ्दै जाने, भदौमा उच्च अवस्थामा पुग्ने, असोज,कात्तिक सम्म यसको जोखिम रहने भएकाले तीन महिनामा डेङ्गु सचेतना अभियान सञ्चालन गर्न लागिएको बताए । नेपालमा सन् २०२२ मा डेङ्गु सङ्क्रमितको सङ्ख्या ५६ हजार थियो ।
सन् २०२३ मा ५२ हजार, सन् २०२४ मा ४६ हजार र सन् २०२५ मा यो सङ्ख्या घटेर आठ हजारमा सीमित भएको महाशाखाले जनाएको छ ।





















