भैरहवा, २ जेठ ।
भैरहवा जारी पंचकन्या रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ‘ए’ डिभिजन खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबार भएको खेलमा वेष्टर्नले जेआर क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको जेआरले निर्धारित ५० ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ७१ रन बनायो । उसका लागि गगन अधिकारीले ५५, विमल भट्टराईले २८, विशाल भुसालले २१, दिनेश विष्टले १९ र अनमोल श्रीस थापाले १७ रन बनाए । वेष्टर्नका सन्देश थापा र अभिषेक गौतमले ३–३ तथा कलम अली मुसलमानले २ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको वेष्टर्नले ३४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो । उसको जितमा देव खनालले ५८, मिर्नाल गुरुङले ३२, अभिषेक गौतमले २१ तथा प्रज्जवल थापा र कलम अली मुसलमानले १९–१९ रनको योगदान गरे । बलिङमा जेआरका दिनेश विष्टले ३, कृष्ण पन्थीले २ विकेट लिए । खेलमा अभिषेक गौतम म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।




















