काठमाण्डौ, १८ चैत ।
सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश भएसंगै बरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।
नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ ।
प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ । बरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । उनी सर्वोच्च अदालतमा करिव एक दशक कार्यरत रहँदा लैंगिक ज्याय, लैंगिक एवं घरेलु हिंसा एवं संवैधानिक मामिला जोडिएका कैयौ मुद्दामा दुरगामी असर पार्ने नजिर प्रतिपादन गरेकी थिइन् ।
न्यायपरिषदले अघिल्लो महिना नै प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको रोष्टर (सूची) संवैधानिक परिषदमा पठाएको थियो । त्यतिबेला परिषदले बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा समावेश गरेको थियो ।
हाल सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको पद रिक्त रहेकाले परिषद् निष्क्रिय बनेको छ । आगामी १९ गते संघीय संसद्को अधिवेशन सुरु भएपछि मात्रै आवश्यक पदपूर्ति भई परिषद्ले पूर्णता पाउने अपेक्षा गरिएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ । यो सम्पूर्ण प्रक्रिया पूरा हुन कम्तीमा एक महिना लाग्ने देखिएको छ ।






















