भैरहवा, १५ फागुन ।
रुपन्देही सम्पन्न ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन कलेजले चुमेको छ । भैरहवामा भएको फाइनल खेलमा नेपथ्य कलेजलाई ४४ रनले पराजित गर्दै न्यु होराइजनले उपाधि हात पारेको हो । उपाधिसँगै न्यू होराईजन नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेतामा नेपथ्य भने नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा रुपन्देही क्याम्पसका सन्तोष यादव म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै, बुटवल कालिकाका प्रज्जवल थापा बेष्ट ब्याटर र प्यारामाउण्ट कलेजका आशुतोष पाण्डे बेष्ट बलर घोषित भए । उनीहरु जनही ५–५ हजार रुपैयाँ पाए । यस्तै, प्रतियोगितामा भैरहवा नमून कलेज अनुशासित टिम हुन सफल भयो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको न्यु होराइजनले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय १४ रन बनायो । उसका लागि आरिफ खानले ३५, महेश भरले २४, प्रिन्स पालले १६ र अमर मिश्राले १२ रन बनाए । बलिङमा नेपथ्यका प्रविण ढकालले ३, लक्ष्मण कुमालले २ तथा रोशन बश्याल, सन्दीप यादव, आरिफ खान र प्रतीक भट्टराईले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको नेपथ्यले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७० रनमा समेटियो । नेपथ्यलाई सस्तैमा रोक्न न्यु होराइजनका शुभम पाण्डेले ४, विप्रसन केसीले ३ तथा महेश भर, प्रिन्स पाल र शुभम खनालले १–१ विकेट लिए । नेपथ्यका सन्दीप यादवले २९ तथा जसिम खान र लक्ष्मण कुमालले समान ११–११ रन बनाए । शुभम पाण्डे प्लेयर अफ द फाइनलबाट पुरस्कृत भए ।
एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्री, कार्यक्रम संयोजक निरजप्रताप खाँण, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।





















