बुटवल, ८ असोज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको पहिलो वार्षिक साधारणसभा असोज ११ गते आइतबार बुटवलमा हुने भएको छ । युवा उद्यमीलाई एकताबद्ध गर्दै उद्यमशीलता प्रवद्र्धन तथा सामाजिक गतिविधिमा सक्रिय बनाउँदै आएको मञ्चले ‘पहिलो वर्षको समीक्षा, अझ बलियो भोलिका लागि रूपान्तरण’ भन्ने अवधारणासहित साधारणसभा आयोजना गर्न लागेको हो ।
मञ्चका संस्थापक अध्यक्ष राजन कसजुका अनुसार साधारणसभामा संस्थाको पहिलो वर्षका गतिविधि तथा उपलब्धिको समीक्षा गरिनुका साथै आगामी कार्यदिशाबारे छलफल हुनेछ । टाइगर प्यालेस बाइ सोल्टीमा हुने साधारणसभाको शुभारम्भ सीजी कर्प ग्लोबलका अध्यक्ष तथा नेपाल उद्योग परिसंघका एमेरिटस अध्यक्ष विनोद चौधरीले गर्ने कार्यक्रम छ । सो अवसरमा चौधरीले उद्योग तथा व्यवसाय क्षेत्रमा आफ्नो अनुभवसमेत प्रस्तुत गर्नेछन् ।
मञ्चका उपाध्यक्ष विकास पाण्डेयका अनुसार साधारणसभामा संस्थाको आगामी रणनीति, युवा उद्यमीका अवसर तथा चुनौतीलगायत विषयमा छलफल हुनेछ । साधारणसभासँगै हुने अधिवेशनबाट मञ्चको नयाँ नेतृत्वसमेत चयन गरिनेछ ।




















