काठमाडौँ,८ असोज ।
नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रंग परिवर्तन गरिएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागल जनाएको छ ।
विभागका अनुसार नयाँ नोट वैजनी रंगको घेराभित्र फिक्का हरियो रंगको छ । गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नोटको अग्र भागको मध्य खण्डमा श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको र नोटको दायाँतर्फको तल्लो भागमा दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सहजताका लागि एक हजार अंक जनाउने रोमन अक्षर एम राखिएको छ । नोटको पृष्ठ भागको मध्य खण्डमा राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुई हात्तीहरूको चित्र राखिएको छ ।
नोटको पृष्ठ भागमा पानीछापको दायाँतर्फ नेपालको सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसका चित्र प्रयोग गरिएको छ ।




















