बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगर समितिको नयाँ नेतृत्व चयनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्। बुधबार हुने अधिवेशनले उपमहानगर समितिको नयाँ नेतृत्व चयन गर्नेछ। निकै रस्साकस्सीबीच वर्तमान उपसभापति ज्योति भण्डारी र अनुभवी नेता जितबहादुर मल्लको नेतृत्वमा छुट्टाछुट्टै प्यानल घोषणा भएका छन्।
भण्डारी नेतृत्वको प्यानलबाट उपसभापतिमा गणेश घिमिरे, महिला उपसभापतिमा गंगा पन्थी, सचिवमा अर्जुन गिरी र सहसचिवमा नारायण खनाल उम्मेदवार बनेका छन्। त्यस्तै, मल्ल नेतृत्वको प्यानलबाट उपसभापतिमा तीर्थराज काफ्ले, महिला उपसभापतिमा करुणा मल्ल, सचिवमा रमेशप्रसाद अधिकारी र सहसचिवमा सूर्यप्रसाद काफ्ले उम्मेदवार रहेका छन्।
बुटवल उपमहानगर समितिको नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएपछि अधिवेशनलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ। दुवै पक्षले आफ्नो पक्षमा प्रतिनिधिको समर्थन जुटाउन आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाएका छन्।
अधिवेशनसँगै पार्टीभित्र देखिएका गुटगत गतिविधि र मनमुटावलाई अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउन सहयोग पुग्ने केही नेताहरूको दाबी छ।




















