काठमाडौँ । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मध्यपूर्व बङ्गालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि कोशी र बागमतीका पहाडी भू–भाग तथा मधेश प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



















