मणिग्राम, ६ भदौ ।
रूपन्देहीको मणिग्राममा सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण, शैक्षिक अवसर र अनुसन्धानका सम्भावनाबारे केन्द्रित दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । राममणि बहुमुखी क्याम्पस, मणिग्रामको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल, भारत, फिलिपिन्स र मलेशियाका विश्वविद्यालय तथा क्याम्पसका प्राध्यापक, अनुसन्धानकर्ता तथा विज्ञहरूको सहभागिता रहेको छ ।
“सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू : उत्कृष्टताको खोजीमा” मूल विषयमा आयोजित सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका कार्यबाहक रजिष्ट्रार एवं व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेले गरे । उद्घाटन कार्यक्रममा प्रा.डा. चालिसेले अनुसन्धानको उपयोगमार्फत शैक्षिक तथा सामाजिक क्षेत्रलाई अघि बढाउनु अहिलेको आवश्यकता भएको बताए । व्यवस्थापनलगायत विभिन्न संकायका शैक्षिक कार्यक्रमलाई थप अनुसन्धानमुखी बनाउन सके नेपाल र नेपालीको भविष्य अझ उज्ज्वल बन्ने उनको दाबी छ ।
सम्मेलनका मुख्य वक्ता भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा.डा. अनुराग द्विवेदीले वर्तमान उत्तरआधुनिक समाज र मानव विकासको सन्तुलन कायम गर्न समाजशास्त्रीय अनुसन्धानको भूमिका महत्वपूर्ण रहेको बताए । प्रविधि, अर्थतन्त्र र भौतिक विकासको सदुपयोग गर्दै सुखी समाज निर्माणतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
त्यस्तै, फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्युट अफ साइन्सेज एण्ड टेक्नोलोजीका प्रा.डा. एलेक्सिस ए. एन्रिक्वेजले कृत्रिम बुद्धिमत्ता (एआई) ले अवसरसँगै बहुपक्षीय चुनौतीसमेत ल्याएको बताए । एआईको उचित प्रयोगबाट प्राध्यापक तथा विद्यार्थीले शैक्षिक क्षेत्रमा लाभ लिन सक्ने उनको भनाइ थियो ।
उद्घाटनपछि आयोजित विशेषज्ञ समूह छलफलमा सृजनात्मक क्षति, वर्तमान अर्थतन्त्रका चुनौती तथा अवसर र कृत्रिम बुद्धिमत्तालगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए । छलफलमा भारतका प्रा.डा. अनुराग द्विवेदी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्रा.डा. दिलिप पराजुली र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. रेशम थापाले विज्ञका रूपमा सहभागिता जनाए । दोस्रो समूह छलफलमा स्थानीय उद्योग तथा व्यवसायले अर्थतन्त्रमा पु¥याएको योगदान, तिनको दिगोपनाका चुनौती तथा दक्ष जनशक्ति उत्पादनमा सामुदायिक क्याम्पसको योगदान, चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो ।
छलफलमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक नारायणप्रसाद भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेशप्रसाद अधिकारी, शिवगंगा डेरीका सञ्चालक एवं देवदह नगरपालिकाका पूर्वप्रमुख हिरा बहादुर खत्री, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली र एनआईसी एशिया बैंक लुम्बिनी प्रदेश प्रमुख राजन पोखरेलले अनुभव तथा धारणा प्रस्तुत गरे ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल, पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष गुप्ता, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली र अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले कार्यक्रमबारे प्रकाश पारे ।
सम्मेलनको दोस्रो दिन भदौ ७ गते नेपाल, भारत, फिलिपिन्स र मलेशियाका विभिन्न विश्वविद्यालय तथा क्याम्पसका अनुसन्धानकर्ताका ३३ वटा कार्यपत्र प्रस्तुत गरिने अनुसन्धान व्यवस्थापन समितिका सदस्य राजेन्द्र थापाले जानकारी दिए । सम्मेलनको पहिलो दिन विभिन्न क्याम्पस तथा विश्वविद्यालयका २१८ जनाको सहभागिता रहेको सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले जानकारी दिए ।




















