Spread the love

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताएका छन्। लमहीमा मंगलबार आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढी देखिएको बताए। उनले यसलाई प्रदेशकै ठूलो चुनौती र चिन्ताको विषयका रूपमा चित्रण गरे।

मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरी युवालाई प्रशिक्षित र अनुशासित बनाउनुपर्ने भन्दै उनले यसका लागि प्रदेश सरकार आवश्यक साझेदारी गर्न तयार रहेको बताए।

उनका अनुसार दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेका छन्। तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागूऔषधको प्रयोग दुर्घटनाका प्रमुख कारण रहेको उल्लेख गर्दै उनले लागूऔषध नियन्त्रणमा सबै जिम्मेवार निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

पुराना सवारीसाधन, गुणस्तरहीन सडक र चालकको लापरबाहीले समेत दुर्घटना बढाइरहेको भन्दै मुख्यमन्त्री आचार्यले प्राविधिक रूपमा उपयुक्त र गुणस्तरीय सडक निर्माणमा जोड दिए। “बलियो र गुणस्तरीय सडक निर्माणसँगै सवारी नियमको कडाइका साथ पालना गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ,” उनले भने।

उनले नागरिक समाजलाई सुसूचित गर्दै बालबालिकालाई कुलतबाट टाढा राख्नुपर्ने तथा समाजमा बढ्दै गएको विकृति, विसंगति र अराजकता नियन्त्रणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। दुर्घटनापछि घाइतेको समयमै उद्धार तथा उपचारको व्यवस्था सुनिश्चित गर्न पनि उनले आग्रह गरे।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले दुर्घटना न्यूनीकरणका लागि कानुनको इमान्दारीपूर्वक पालना र सडक सुरक्षा सम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कार्यशालामा प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शंकरसिंह धामीले लुम्बिनी प्रदेशको पाँच वर्षको सडक दुर्घटनाको विश्लेषण प्रस्तुत गरे। उनका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म प्रदेशमा ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ हजार ५ सय २५ जनाको मृत्यु, ५ हजार ४ सय १६ जना गम्भीर घाइते र ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा संलग्न सवारीमध्ये ६ हजार २ सय ७१ वटा दुईपाङ्ग्रे रहेको र ती कुल दुर्घटनाको करिब ५७ प्रतिशत रहेको विश्लेषणमा उल्लेख छ। अधिकांश दुर्घटना साँझ ६ बजेदेखि मध्यरातसम्म हुने गरेका छन् भने करिब ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांक प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा ‘मृत्यु र गम्भीर घाइते शून्यमा झारौँ’ भन्ने लक्ष्यसहित सडक सुरक्षा प्रवद्र्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्