Spread the love

बुटवल, २६ जेठ ।
सामाजिक सञ्जालमार्फत स्वास्थ्य सेवाको नाममा भइरहेको भ्रामक प्रचारबाट बिरामी ठग्ने घटना बाहिर आएको छ । नेपाल मेडिकल काउन्सिलका बोर्ड सदस्य तथा हाडजोर्नी एवं नसारोग विशेषज्ञ डा. सम्राट पराजुलीले मंगलबार सामाजिक संजालमार्फत एक पिडित बिरामीको घटना सार्वजनिक गरेका हुन ।

वैज्ञानिक आधार पुष्टि नभएका उपचार पद्धति तथा अप्रमाणित दाबीका आधारमा सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति काउन्सिलको ध्यानाकर्षण भएको उनले बताए । स्वास्थ्य र स्वास्थ्य सेवाप्रतिको विश्वासमाथि नकारात्मक असर पारिरहेको भन्दै यस्ता घटनाहरु बाहिर ल्याउने र दोषीमाथि कारवाही हुने बताए । हाल विदेशमा कार्यरत २२ वर्षीय एक युवा बिरामी जो विगत पाँच वर्षदेखि हाडजोर्नी तथा नसासम्बन्धी समस्याबाट पीडित रहेका थिए ।

उपचारसँगै न्यायको खोजीमा उनको क्लिनिकमा पुगेका हुन । ती बिरामील टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारित सामग्रीको प्रभावमा परी काठमाडौंस्थित स्पार्क ईन्टरनेश्नल हेल्थ रिर्पोटमा उपचार गराएका थिए । बिरामीले करिब १९ दिनसम्म उक्त संस्थामा भर्ना भएर विभिन्न उपचार पद्धति अपनाए पनि उपचार प्रक्रिया तथा त्यसमा संलग्न व्यक्तिहरूसम्बन्धी गम्भीर प्रश्न उठ्ने खालका तथ्य र प्रमाणहरू आफूलाई उपलब्ध गराएको डा. पराजुलीले बताएका छन् ।

नेपाल मेडिकल काउन्सिलले यस्ता गतिविधि नियन्त्रण तथा नियमनका लागि पटक–पटक सूचना र निर्देशन जारी गर्दै आएको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिले अझ कडा अनुगमन, प्रभावकारी नियमन र आवश्यक कानुनी कारबाहीको आवश्यकता देखाएको बताए। उनले सम्बन्धित नियामक निकाय, प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

डा. पराजुलीले सम्बन्धित बिरामीले उपलब्ध गराएका प्रमाण, कागजात तथा भिडियो सामग्री सुरक्षित रूपमा रहेको जानकारी दिँदै बिरामीको गोपनीयता र अधिकारको पूर्ण सम्मान गरिने तथा स्पष्ट सहमति बिना कुनै पनि सामग्री सार्वजनिक नगरिने स्पष्ट पारेका छन् । उनले स्वास्थ्य सेवा वैज्ञानिक प्रमाण, नैतिकता र जिम्मेवारीमा आधारित हुनुपर्ने उल्लेख गर्दै सामाजिक सञ्जालमा प्रसारित भ्रामक प्रचारका आधारमा उपचार छनोट नगर्न र सचेत रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्