बुटवल, १८ पुस । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी खोलामा ताल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । रुरु ताल रिडी एड्भेन्चर प्रालिको करिब १ करोड रुपैयाँ लगानीमा रिडी खोलामा ताल निर्माण गर्न लागिएको हो ।
नौका विहार सञ्चालन तथा रिडी क्षेत्रको सौन्दर्यकरण गर्ने उद्देश्यले ताल निर्माण सुरु गरिएको कम्पनीका अध्यक्ष रबिलाल पन्थले जानकारी दिए । उनका अनुसार स्थानीय नौ जना युवाको लगानी तथा सक्रिय सहभागितामा परियोजना अघि बढाइएको हो । आगामी माघे सक्रान्ति मेलालाई लक्षित गर्दै हाल अल्पकालीन ताल निर्माण गरिँदैछ भने त्यसपछि स्थायी र पक्की ड्याम निर्माण गर्ने दीर्घकालीन योजना समेत रहेको अध्यक्ष पन्थले बताए ।
निर्माणाधीन ताल करिब ६० मिटर चौडाइ र ५ सय मिटर लम्बाइको हुने बताइएको छ । ताल निर्माणपछि रिडी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीय युवाको पहलमा सुरु भएको यस परियोजनाले रिडी क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्ने विश्वास लिइएको छ ।




















